काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेलाई बयानका लागि आज काठमाडौँ ल्याउन लागिएको हो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि बयान लिन अहिले बिहान साढे आठ बजे बुद्ध एयरको जहाजबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ । कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उहाँलाई काठमाडौं ल्याउन लागिएको हो ।
रास्वपा सभापति लामिछानेलाई बयान गराएर पुनः पोखरामै फर्काइने र चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिने जनाइएको छ । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।