कास्की, मङ्सिर ९ गते । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । यसअघि थपिएको म्याद अस्ति शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) ल्याइएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक कात्तिक २५ गते थपेको १३ दिनको म्याद शुक्रबार नै सकिएकोले थप समय हिरासतमा राख्ने अनुमति माग्न आज पाँचौँपटक कास्की जिल्ला अदालतमा पेश गरेको हो ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालतमा लगिएको छ । सभापति लामिछानेविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएकोले अब म्याद थप गरेर प्रहरीले काठमाडौँ लाने तयारी गरेको छ ।