काठमाडौँ, मङ्सिर ९ गते । काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि धरहरा व्यवसायिक रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लिएर आजदेखि खुला गरिने भएको हो ।

धरहरा चढ्नका लागि विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अबदेखि स्वेदशीलाई प्रतिव्यक्ति दुईसय रुपैयाँ लाग्नेछ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजदेखि धरहरा सञ्चालन गर्न लागिएको हो ।

मन्त्रालयको प्रस्ताव अनुसार धरहरा चढ्नका लागि सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक अन्य राष्ट्रका नागरिकहरुलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ । त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ ।