काठमाडौँ, मङ्सिर ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो ।
विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै, आयोगले घनश्याम दुवे, ठाकुरप्रसाद गुरौला, शक्तिप्रसाद सापकोटा, पुष्पा सापकोटाविरुद्ध विशेषमा दायर गरेको मुद्दामा सफाइ दिएको थियो । झुट्ठा सरुवा पत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगमा मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको मुद्दामा पनि विशेषले सफाइ दिएको थियो । सो मुद्दामा आयोगले पुनः पुनरावेदन गरेको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा आयोगले दायर गरेको मुद्दामा चन्द्रसिंह लामा, सङ्गीता चौलागाई, माधवप्रसाद चौलागाईंलाई पनि विशेष अदालतले सफाइ दिएको थियो । निजहरुलाई गत जेठ २३ गते दिइएको सफाइ चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्राटबहादुर शाहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले गत मङ्सिर ७ गते सफाइ दिएको थियो । प्रतिवादी महेश सिंह कठायत समेतको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै शुक्रबार पुनरावेदन गरेको छ ।
त्यस्तै, प्रतिवादी विनोदकुमार यादवविरुद्ध गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको मुद्दामा समेत विशेषले विसं २०८० फागुन ६ गते सफाइ दिएको थियो । सो फैसलामा समेत चित्त नबुझाई पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
प्रतिवादी परशुराम अधिकारी, सीताराम पोखरेल, ताराप्रसाद जोशी र प्रसाराम भुसाल, भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध दायर भएको मुद्दामा २०८० माघ ७ गते सफाइ दिएको थियो । सो फैसलाविरुद्ध आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको हो ।
प्रतिवादी नारायणप्रसाद पौडेल लगायतको मुद्दामा समेत विशेषले गत मङ्सिर ७ मा सफाइ दिएको थियो । सो मुद्दामा पनि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यस्तै, सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद, पुष्पराज सिग्देल विरुद्धको मुद्दामा पनि विशेषले विसं २०८० पुस १८ गते सफाइ दिएको थियो । सो सफाइमा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।
ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्षतिपूर्ति लगायतका मुद्दामा सहजीकरण गरिदिने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादवले र २० हजार घूस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको हो ।
आयोगको महोत्तरी कार्यालयबाट गएको टोलीले नासु यादवलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।