काठमाडौँ, मङ्सिर ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण एक हप्ताभित्र सार्वजनिक गर्न परिपत्र गरेको हो ।
तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आउन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गर्नुभएको हो ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहजरूपमा जानकारी पाउने व्यवस्था गर्न भनिएको छ । मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्कलगायत सबै खालका शैय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरण र टिकटसहितका अन्य सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी गरेको र पहिलो चरणमा अनुगमन गरिने बताउनुभयो । उहाँले अनुगमनमा बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुने बताउनुभयो ।