धनगढी, मङ्सिर ६ गते । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताउनुभएको छ । गृहमन्त्री लेखकले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताउनुभएको हो । ।

आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,–’दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन । २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै उहाँले अबको १ वर्ष ८ महिनापछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधनमन्त्री बन्ने बताउनुभयो ।’


प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफललाई लिएर बेकामको हल्ला चलाइएको बताउनुभयो । उहाँले एमाले र काङ्ग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छांै, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ’ भन्नुभयो ।


गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली यहि मङ्सिर १७ गते चीन जाने कुरापछि बीआरआईलाई कार्यान्वयका लागि अघि बढाउने विषयमा दुई दलबीच मतभेद रहेको चर्चाबीच सञ्चारकर्मीको जिज्ञासामा यस्तो जवाफ दिनुभएको हो ।

नयाँ प्रधानमन्त्री नियुक्तिलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने विषय सामान्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ’प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको र चीन भ्रमणलगत्तै भारत भ्रमण जानुहुन्छ ।’

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुग्नुभएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको उल्लेख गर्दै अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताउनुभयो ।