काठमाडौँ, मङ्सिर ५ गते । सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा जाहेरी परेको छ । लामिछानेविरुद्ध उहाँकै गृहजिल्ला चितवनमा पनि आज बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सहकारी पीडितहरुको तर्फबाट २२ जनाले जाहेरी दिएको बताइएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा रहेका छन् ।