काठमाडौँ, मङ्सिर ५ गते । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका व्यवसायी प्रसाईंलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हिजै थप अनुसन्धानका लागि उनलाई साइबर ब्युरोमा बुझाएको थियो ।
प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र किर्ते कागजात राखेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएकाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने बताइएको छ ।