काठमाडौँ, मङ्सिर ५ गते । सङ्घीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । जस अनुसार विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो ।

आज बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा बस्ने भएको छ । विधायन व्यवस्थापन समितिको सो बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक– २०८१ मा दफावार छलफल हुनेछ ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ । बैठक आज बुधबार बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी,आज अर्थ समितिको बैठक पनि बोलाइए पनि अन्तत: स्थगित गरिएको छ । बैठकमा समितिमा प्राप्त विधेयकहरू माथिको कारबाहीका लागि प्राथमिकता र कार्ययोजना सम्बन्धमा अर्थमन्त्रीसहितको उपस्थितिमा छलफल गर्ने तयारी थियो ।