काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ । आज मङ्गलबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएकाले त्यसअघि दिउँसो साढे चार बजे दुई शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट हुने भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण र मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा काङ्ग्रेसलाई विश्वासमा लिन पछिल्लो समय ओली–देउवा भेटघाट बाक्लिएको छ । उहाँहरुबीचको छलफलपछि नै मन्त्रिपरिषद् बैठकले भ्रमण लगायतका विषयमा निर्णय लिने बताइएको छ ।
यसअघि हिजो सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सो छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो ।