काठमाडौँ, मङ्सिर ४ गते । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने भएको हो ।

यसअघि सोमबार उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो। अब आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।

भोलि बुधबार बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४ सय १० जनाको उम्मेदवारी परेको छ ।