काठमाडौँ, मङसिर ३ गते । नेपाल सरकारका पूर्वमुख्यसचिव डा.बैकुण्ठ अर्यालले राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिनुभएका अर्यालले आइतबार हाजिर गरे लगत्तै पदबाट राजीनामा दिनुभएको हो ।
मुख्यसचिव अर्यालको सचिवालयले उक्त राजीनामापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकमा सम्भवतः उक्त राजीनामा पेश हुने र स्वीकृत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
अर्यालले आइतबार दिउँसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गर्नुभएको थियो । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्कनुभएका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो । गत कात्तिक १४ मा सफाइ पाउनुभएका पूर्वमुख्यमन्त्री अर्यालले २० कात्तिकको निर्णयअनुसार हिजो आइतबार आयोगमा हाजिर गर्नुभएको थियो ।
उनहाँ निलम्बनमा रहेकै बेला नयाँ मुख्यसचिव नियुक्ति भइसकेको अवस्थामा सोही स्तरको पदमा आयोगमा कुनै खास र स्पष्ट जिम्मेवारी बिना बस्न उपयुक्त नहुने भन्दै अर्यालले राजीनामा दिनुभएको बताइएको छ ।