काठमाडौँ, मङ्सिर ३ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । नेता खनालले जारी गर्नुभएको विज्ञप्तिमा ढुङ्गानाले लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको स्मरण गरिएको हो ।

पूर्वप्रधानमन्त्री खनालले संसदीय अभ्यासलाई सबल बनाउन संसद् प्रतिपक्षको, सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गर्नुभएका ढुङ्गानाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभयो ।

उहाँले विसं २०४७ को संविधान निर्माणमा क्रममा संविधान सुझाव आयोगका सदस्यको भूमिका निर्वाह गर्नुभएका ढुङ्गानाले शान्ति स्थापनामा पनि पुर्याएको योगदानको स्मरण गर्नुभयो ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । उहाँको आज अन्त्येष्टि गरिने जनाइएको छ ।