काठमाडौँ, मङ्सिर गते । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज सोमबार उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय निर्धारण गरेको हो ।
आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर भोली मङ्सिर ४ गते मङ्गलबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका तय गरेको छ ।
यसैगरी मङ्सिर ५ गते बुधबार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।