काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उहाँका व्यावसायिक साझेदार छविलाल बञ्जाडेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपाका सभापति रवि र उहाँका व्यावसायिक साझेदार छविलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
आज आइतबार अदालत न्यायाधीश शिशिरराज ढकालको इजलासले उहाँहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको प्रकरणमा रवि र छविविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले पक्राउ पुर्जी जारी गर्नुभएको हो ।
सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पर्नुभएका रास्वपाका सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा रहनुभएको छ । उहाँलाई अब जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर अनुसन्धान र बयान गराउने बाटो खुलेको छ ।