काठमाडौँ, मङ्सिर १ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन नभत्किने स्पष्ट पार्नुभएको छ । शुक्रबार डडेल्धुरामा सञ्चारकर्मीसँगको साक्षात्कारमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
सभापति देउवाले भन्नुभयो, ‘दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो। त्यसपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ।’ सो अवसरमा उहाँले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने पनि बताउनुभयो। राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको उहाँको भनाई थियो। राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने उहाँले स्पष्ट पार्नुभएको छ ।
एक फरक प्रसङ्गमा देउवाले वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत हुने उल्लेख गर्नुभयो । प्रहरीले कानुनबमोजिम काम गरिरहेको उहाँको जिकिर छ।
सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्नेमा उहाँको जोड छ। देउवाले शिवशिखर सहकारीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको प्रश्नमा कारबाही गरेर रकम बचतकर्तालाई दिइने विश्वास दिलाउनुभयो ।