काठमाडौँ, कात्तिक ३० गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो ।
आज यहाँ सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो । “वास्तविक समाजवाद न कुनै किताबका पानाबाट निस्कन्छ न पार्टीका उपदेशबाट”, उहाँले भन्नुभयो, “समाजवाद जगैदेखि निर्माण गर्ने कुरा हो । हामीले अब समाजवाद उमार्नु छ, समाजवाद थोपर्नु होइन ।” अध्यक्ष दाहालले मुलुकमा समाजवादको वैचारिक बहस गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पुस्तकका लेखक घिमिरेको लेखनमाथि समीक्षा गर्नुहुँदै उहाँले आफ्नो पार्टीले ‘२१औँ शताब्दीको नयाँ जनवाद’ पुस्तक निकालेर जनताको समाजवादको विषय उठान गर्दै आएको बताउनुभयो । अध्यक्ष दाहालले उक्त दस्तावेजमा असली समाजवादमा जनताको नियन्त्रण, निगरानी र सक्रिय हस्तक्षेपको कुरा उल्लेख गरिएको छ भन्नुभयो ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले २०४६ सालदेखि जनताले समाजवादको भाषणमात्रै सुन्दै आएको तर अहिले पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्नुभयो । समाजवादले जनताको भोको पेटसँग प्रत्यक्ष सरोकार राख्ने भए पनि नेपालको राजनीतिक दल सत्तामुखी भएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक सन्तोष परियारले समाजवादबाटै सीमान्तकृत समुदायको मुक्ति सम्भव हुने र आफ्नो पार्टी यसैका आधारमा सङ¬्घर्षरत रहेको बताउनुभयो । आदिवासी जनजाति अधिकारकर्मी सरु सिङ्गक लिम्बूले लेखक घिमिरेको पुस्तकमा समाजवादको वास्तविक मार्गदर्शन चित्रण भएको टिप्पणी गुर्नभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । घिमिरेको पुस्तक मदानी बुक्सले प्रकाशन गरेको हो ।