प्रतिकात्मक तस्वीर
काठमाडौँ, कात्तिक ३० गते । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका–१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका–४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो ।
प्रितिकाले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि एक जनाबाट रु दुई लाख तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक/एक जनाबाट रु एक/एक लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।