काठमाडौँ, कात्तिक ३० गते । सङ्घीय संसदको चार वटा समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ भने आजै राष्ट्रियसभा अन्तर्गतको विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्न लागेको हो ।
आज बिहान ११: ३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगनबारे छलफल हुने बताइएको छ ।
त्यसैगरी आज अपराहन्न १: १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने भएको छ । त्यसैगरी आज बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने बताइएको छ ।
त्यसैगरी आज दिउँसो एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।