काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधान माथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र सङ्घीयताका मूल मर्ममा तलमाथि नहुने पनि स्पष्ट गर्नुभयो ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्तासमीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उहाँले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच सहकार्य भएको बताउनुभयो । अब एक वर्ष आठ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उहाँले दोहोर्‍याउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने जनाउनुभयो ।

“म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौँ । नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।”