काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न मङ्सिर २ गते आइतबारका दिन बैठक आह्वान गरेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धमा छलफल गर्न आगामी आइतबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बैठक बोलाएको हो ।
उक्त बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको छ । बैठकमा भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली आगामी मङ्सिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी पनि रहेको बताइएको छ ।