काठमाडौँ, कात्तिक २७ गते । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बुटवल लगिने भएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका (रास्वपा) का सभापति लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न आज बुटवल लान लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहनुभएका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न बयानका लागि लामिछानेलाई जहाजमार्फत भैरहवा लैजान लागिएको हो । उहाँको आजैबाट बयान सुरु गरिने बताइएको छ ।
सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड बढी रकम गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सञ्चालक छविलाल जोशी तथा रवि लामिछानेको समूहले अपचलन गरेको रूपन्देहीमा मुद्दा छ । गत वर्ष जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमार्फत् सुप्रिम सहकारीका संस्थापक अध्यक्ष जीवी राई, अध्यक्ष ओमप्रकाश गुरुङलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सोही विषयमा सोधपुछ गर्नका लागि इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई आज बुटवल लान लागेको हो।
यसैबीच, सभापति लामिछानेलाई बयानका लागि लगिने भएपछि रास्वपाले भैरहवामा विरोध प्रदर्शन गर्ने भएको छ ।