धरान, कात्तिक २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताउनुभयो । नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गर्नुभयो । समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।