काठमाडौँ, कात्तिक २६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनुभएको छ । शङ्खधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गरेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले तत्कालीन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गर्नुभएका साख्वा सामाजिक न्यायको पक्षपाती रहेको भन्नुहुँदै उपप्रधानमन्त्री सिंहले धर्मसंस्कृतिप्रति पनि उहाँको उत्तिकै योगदान रहेको चर्चा गर्नुभयो ।
साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि उहाँले स्मरण गर्नुभयो । विसं २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शङ्खधरले जनताको ऋणमोचन गर्नुभएको इतिहास रहेको छ ।