काठमाडौँ, कात्तिक २६ गते । भाटभटेनी सुपरमार्केटका व्यवसायी मीनबहादुर गुरुङले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई दान स्वरुप दिएको जग्गाविरुद्ध परेको मुद्दाको पेशी हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा अन्तरिम आदेश दिने–नदिने छलफलका लागि तोकिएको पेशी आज हेर्न नमिल्नेमा राखिएको हो ।
न्यायाधीश सुवेदीले यसअघि भाटभटेनीका सम्बन्धमा परेका मुद्दा हेरिसकेका कारण यो मुद्दा हेर्न नमिल्नेमा परेको हो । यसअघि कात्तिक ८ गते पनि यो मुद्दाको सुनुवाइका लागि नहकुल सुवेदीको इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा राखिएको थियो ।
यसअघि यस मुद्धामा कात्तिक १२ गते सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्काल उक्त जग्गामा कुनै संरचना नबनाउन आदेश दिएको थियो । उक्त आदेश निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफलका लागि आज पेशी तोकिएको थियो । अब नयाँ पेशी अर्को मितिमा तोकिनेछ ।