वीरगञ्ज, कात्तिक २६ गते। छठपर्व मनाएर काठमाडौँ फर्किने यात्रुसँग वीरगञ्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ ।
वीरगञ्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साविकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाहीगर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगञ्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ । वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगञ्ज–हेटौँडाहुदैँ काठमाडौ जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गर्नुभयो । “मेरो छोरालाई वीरगञ्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भाडा तिरेर पठाए । अरु बेला वीरगञ्जबाट काठमाडौँ जाँदा रु आठ सय ५० सम्म लिने गरिन्थ्यो तर अहिले यातायात व्यवसायीले एक हजार पाँच सयसम्मको भाडा मागे । यसरी जथाभावी ढङ्गले भाडा असुल्नेलाई प्रहरीले कारबाहीगर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो । ठाकुरले वीरगञ्जका यातायात व्यवसायीले बढी भाडा असुलेको विषयलाई लिएर आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत पोष्ट गर्नुभएको छ ।
व्यवसायीले अरु बेला टिकट दिने गरेपनि हाल टिकट छैन भनेर बढी मूल्य दिनेलाई मात्रै उपलब्ध गराउने गरेको आरोप लगाउनुभयो । वीरगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष राखेको भएपनि प्रहरी प्रशासनले यात्रुलाई राहत र विचौलियालाई कानुनी दायरामा ल्याउन नसकेको ठाकुरको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्ट भने बढी भाडालिएको भन्दै गुनासो आएपछि अनुगमनमा जाँदा गुनासोकर्ता नै सम्पर्कमा नआउँदा कारबाहीगर्न समस्या भइरहेको दाबी गर्नुहुन्छ । “शनिबारपनि बढी भाडा लिएको भन्दै फोनमा गुनासो टिपाएपछि हामी त्यसबारे बुझ्न जाँदा पीडितपक्ष सम्पर्कमा नै आएनन्, अनि के आधारमा कारबाहीगर्नु”, उहाँले भन्नुभयो, “हामीले परवानीपुरमा पनि नियमित जाँच गरिरहेका छौँ । कतिपय यात्रु बढी भाडा तिरेर जाँदापनि ट्राफिक प्रहरीलाई रिपोर्ट नगर्दा त्यस्ता सवारीसाधनलाई कारबाहीगर्न समस्या भइरहेको छ ।”
पर्साका ट्राफिक प्रहरी प्रमुख भट्टले वीरगञ्जको गण्डकचोकबाट बढी भाडा लिएको गुनासो आएसँगै आइतबार एउटा सवारीसाधनलाई बढी भाडा लिएको भन्दै फिर्ता गराउन लगाएको जानकारी दिनुभयो । “आइतबार बढी भाडा लिएको भन्ने एउटा सवारीसाधनबाट बढी भाडा फिर्तापनि गरायौँ ।” उहाँले भन्नुभयो, “बढी भाडा लिएको सवारीसाधनलाई आवश्यक कारबाही गर्नका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जलाई सिफारिस गरेका छौँ ।”