काठमाडौँ, कात्तिक २५ गते । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ पर्नुभएका रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको एकल इजलासले आज आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । प्रहरीले सभापति लामिछानेमाथि ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ । अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो ।