काठमाडौँ, कात्तिक २५ गते। नशामुक्ति र अपाङ्गता सम्बन्धी समस्या समाधानगर्न सबैको आपसी सहकार्य र समन्वय आवश्यक पर्ने बताइएको छ । राजधानीमा आज सुरु भएको नशामुक्ति र अपाङ्गतासम्बन्धी जागरणमूलक युवा सम्मेलनको उद्घाटन सत्रमा सहभागी वक्ताले सहकार्य र समन्वयबाट समस्या समाधानगर्न सकिने धारणा राख्नुभएको हो ।

काशियाना फाउन्डेसनले आयोजना गरेको सम्मेलनको दीप प्रज्ज्वलनगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कतिपय युवाले माध्यमिक तह (९, १० कक्षा) मा प्रवेश गरेदेखि नशा सेवन सुरुगर्ने गरेको उल्लेख गर्नुहुँदै यसबाट अपाङ्गताको अवस्थामा पुग्नेसम्मका समस्या आउने गरेको बताउनुभयो । 

नेपालमा जनसङ्ख्याको ४२ प्रतिशत युवा रहेकाले तिनलाई सत्मार्गमा ल्याउनेगरी योजनासहित कामगर्न लागिएको उहाँले जानकारी दिनुभयो । नेपालमा खुला सीमा भएकाले पनि धेरै लागुऔषध भित्रने गरेको मन्त्री चौधरीले बताउनुभयो । नशामुक्ति अभियानका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

भारतीय जनता पार्टी (भाजपा) का महासचिव दुश्यन्त गौतमले काशियाना फाउन्डेसनले १० वर्षदेखि नशामुक्तिका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नशामुक्तिका लागि दक्षिण एसिया क्षेत्रका देश मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

फाउन्डेसनका संस्थापक सुमित अङ्कुर सिंहले नशामुक्तिका लागि नेपालको पशुपतिनाथबाट भारतको विश्वनाथसम्म संस्थाले जागरणमूलक पदयात्राको तयारी गरिएको जानकारी दिनुभयो । सम्मेलनमा ३० देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा मणिपुरका विधायक रामेश्वर सिंह, फाउन्डेसनका अपाङ्गतासम्बन्धी सल्लाहकार दीपा मल्लिक, संरक्षक श्याम ज्याजु, नवीन वभनिया हरियाणा, डा भूपेन्द्र सिंह, आशीष गुप्तालगायतले नशामुक्तिका लागि आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।