काठमाडौँ, कात्तिक २३ गते । रुकुम पश्चिम र जाजरकोटबाट प्रतिनिधित्व गर्ने पूर्वअर्थमन्त्रीसहितका सांसदहरूले पश्चिम नेपालमा भूकम्पपछिको पुनः निर्माण कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँगको छलफलमा उहाँहरूले पुनःनिर्माण कार्य थप प्रभावकारी बनाउन माग गर्नुभयो ।

छलफलमा अस्याथी आवासको दोस्रो किस्ताको प्रगति र स्थायी पुनःनिर्माणको काममा प्रभावकारी गराउने विषयमा उहाँहरूसँग छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मासहित रुकुम पश्चिम र जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरू कृष्णबहादुर रोकाय, चन्द्रबहादुर विश्वकर्मा, मैना कार्की र प्रदेशसभा सदस्य राजकुमार शर्मालगायत रुकुम पश्चिम र जाजरकोटका पालिका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाको भूकम्प क्षतिग्रस्त क्षेत्रमा स्थायी आवास पुनःनिर्माण र अस्थायी आवासको दोस्रो किस्ताको रकम निकासाको विषयमा गम्भीर ढङ्गले छलफल भएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

जाजरकोट, पश्चिम रुकुमलगायत क्षेत्रमा गएको भूकम्पको अस्थायी आवास निर्माणको पहिलो किस्ताबापतको काम ९२ प्रतिशत सम्पन्न भएको छ तर दोस्रो किस्ता ३२ हजारले मात्रै लगेका छन् । बाँकी किस्ता निकासा हुन समस्या रहेको र स्थायी पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढाउन प्रतिनिधिमूलक टोलीले प्राधिकरण कोध्यानाकर्षण गराएको थियो ।

छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले केन्द्रबाट गर्नुपर्ने कार्यप्रक्रियाका बारेमा समस्या नभएको तर पालिकाबाट दोस्रो किस्ताका लागि चाहिने फोटोलगायत डकुर्मेन्ट पोर्टलमा हाल्नुपर्ने अवस्था रहेकाले त्यो भइनसकेका कारण केही समस्या देखिएको जानकारी गराउनुभयो ।

जसले रकम कोषमा जम्मा भएको बसेको पनि उहाँले बताउनुभयो । कामलाई तीव्ररुपमा अघि बढाउने विषयमा छलफल भएको र समस्या समाधान गरी रोकिएको काम अघि बढाउने पोखरेलले राससलाई जानकारी दिनुभयो ।