टेक्सास (अमेरिका) कातिक २३ गते । संयुक्त राज्य अमेरिकाको टेक्सासमा रहेका नेपाली मुलका मधेसी समुदायले यस बर्षको छठ पर्ब हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु भएको छठ पर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिने ‘मधेसी एसोसियसन ईन अमेरिका’का अध्यक्ष डा सङ्गीत रौनियारले जानकारी दिनुभयो ।

टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका लागि डेन्टनमा रहेको पानीको तलाउ नजिक छठ पर्व मनाउने व्यवस्था गरिएको थियो । टेक्सासमा रहेका विशेषगरी मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं मधेसी समुदायका अगुवाहरूले छठ पर्व कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । अस्ताउँदो सूर्यलाई अर्घ दिन ड्यालस फोर्ट वर्थमा रहेका मधेसी समुदायको डेन्टनमा उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको डा रौनियारले बताउनुभयो । 

यसैगरी टेक्सासको राजधानी अस्टिनमा पनि छठ पर्व धुमधामका साथ मनाइएको छ । अस्टिनस्थित नेपाली समुदायको साझा संस्था ‘ग्रेटर अस्टिन नेपाली समाज’ले छठ पर्ब मनाउन सहयोग र सहजीकरण गरेको थियो । अस्टिनस्थित  पशुपतिनाथ मन्दिर नजिकको तलाऊमा अस्ताउँदो सूर्यलाई अर्घ दिनेहरुको भिड लागेको थियो । 

अघिल्ला वर्षहरूमा मधेसी समुदायको मात्र सहभागिता रहने छठ पर्बमा यस बर्ष गैरमधेसी समुदायको पनि सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजका पूर्वउपाध्यक्ष  तथा सामाजिक अभियन्ता रामकुमार महतोले जानकारी दिनुभयो ।   

त्यस्तै मधेसी समुदायसम्बद्ध सङ्घ–संस्था एवं अगुवाहरुका अनुसार संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, फिलाडेलफिया, फोलिरिडा, अटलान्टा, न्यूयोर्कलगायतका राज्य तथा सहरमा पनि यस वर्ष हर्षोल्लासका साथ छठ पर्ब मनाइएको छ ।