सुनसरी, कात्तिक २१ गते । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठका लागि सुनसरीका विभिन्न जलाशयका छठ घाट बेहुलीझैँ सिङ्गारिएका छन् ।

यहाँस्थित सप्तकोशी नदीसहितका धेरै जलाशयमा छठ घाट सिङ्गारिएका छन् । पूजाका लागि सुनसरीका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बूढीखोला, सुनसरी मोरङ सिँचाइ योजना नहर, कोशी कटान, कोशी ब्यारेज ताथ विभिन्न शाखा नहरलगायतका जलाशय किनारमा बाँस तथा केराको थाम गाडेर छठ घाट बनाइएको इनरुवाका स्थानीय चन्दन मेहताले बताउनुभयो ।

शङ्करपुर शाखा नहरअन्तर्गत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर, राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म घाट निर्माण भएका छन् । सीतागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर, सुनसरी खोला र मरिया खोलामा हजारौँको सङ्ख्यामा छठघाट निर्माण गरिएको मेहताले बताउनुभयो ।

सीमावर्ती क्षेत्रमा पानीको अभाव हुने ठाउँका वर्तालुका लागि हरिनगर गाउँपालिकाले जेसिबीको निःशुल्क व्यवस्था गरेको हरिनगर–४ का वडाध्यक्ष देवनारायण मेहताले बताउनुभयो ।

सदरमुकाम इनरुवासहित दुहवी, रामधुनी, बराहक्षेत्र, इटहरी, कोशी, लौकही, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढीसहितका स्थानीय बजारमा छठमा प्रयोग हुने प्रसाद सामग्रीको किनमेलका लागि भीड बढेको छ । बजारमा केरा, बाँसको सामग्री र माटोका सामग्रीको व्यापार ह्वात्तै बढेको छ । छठका लागि आवश्यक केराको कारोबारमा वृद्धि भएको इनरुवाका व्यापारी विनोद मेहताले बताउनुभयो ।

छठ पूजामा अनिवार्य प्रसादको रुपमा केरा प्रयोग हुने गर्छ । छठमा केराको अत्यधिक माग भएपछि सदरमुकाम इनरुवासहित विभिन्न बजारमा केराको मूल्य अन्य समयको तुलनामा तेब्बरले वृद्धि भएको उपभोक्ताले बताएका छन् ।

केरा यस वर्ष प्रतिकोसा रु ५० सम्म र प्रतिघरी पाँच सयदेखि रु एक हजार पाँच सयमा बिक्री भइरहेको स्थानीय नविता झाले बताउनुभयो ।

विगतमा प्रतिकोसा रु २५ सम्म र प्रतिघरी रु एक सय ५० देखि रु पाँच सयमा खरिद बिक्री भएको थियो । यस वर्ष महँगोमा खरिद गर्नुपरेको उपभोक्ताले बताएका छन् ।

यही असोज ११ र १२ गतेको बाढीका कारण केरा खेतीमा क्षति भएपछि मूल्य वृद्धि भएको उपभोक्ताको भनाइ छ । किसानले भने केराको मूल्य पाउँदा दङ्ग रहेको केरा व्यापारी रमेश मेहताले बताउनुभयो ।

त्यसैगरी छठका लागि आवश्यक उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, माटोका भाँडा, विद्युतीय चिम, प्लाष्टिकका फूल, अदुवाको बोट, हल्दीको बोटलगायतका सामग्रीको कारोबारमा वृद्धि भएको स्थानीयको भनाइ छ ।