काठमाडौँ, कात्तिक २० गते । सरकारले सिकलसेल उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको उक्त रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गर्नुभएको हो । उहाँले मन्त्रिस्तरीय निर्णय गरेअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने भएको हो ।
थारु बहुल क्षेत्र र समुदायलाई पायकपर्ने गरी उक्त अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट उक्त समुदायका करिब १२ प्रतिशत नागरिक प्रभावित भएको मन्त्रालयको आँकलन छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत भू–भागमा बसोबास गर्ने थारु समुदायका नागरिक सिकलसेल एनिमियाबाट बढी प्रभावित भएको पाइएको छ ।
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम हाल सरकारले यस रोगको उपचारका लागि रु एक लाखसम्म निःशुल्क खर्चको व्यवस्था गरेको छ ।