कञ्चनपुर, कात्तिक १६ गते । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ । तिहारका लागि फूलको माग बढेको उहाँको भनाइ छ । “तिहारका लागि फूलको माग असाध्यै छ । मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ”, उहाँले भन्नुभयो, “कोही बारीमै पुगेर फूल किनिरहेका छन् । कतिपयले फोनबाट फूलको माग गरेका छन् ।”

पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन् । फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गर्नुभएको छ, उहाँ ।

तिहारमा हालसम्म रु १५ हजारका फूल बिक्री गरेको रोकायाको भनाइ छ । “दिनमा एकपटक महेन्द्रनगरको माग पूर्ति गर्न फूल लिएर आउनुपर्छ । त्यसपछि दोधारा चाँदनीमै व्यस्त भइन्छ”, उहाँले भन्नुभयो, “तिहार लक्षित गरेर फूलखेती गरिएकाले तिहार सबै फूल बिक्री गरिसक्नुपर्ने हो ।”

सुन्दरनगरमा रोकायाले बाह्र कट्ठा जमिनमा फूलखेती गर्नुभएको छ । उहाँको खेतमा हाल सयपत्री र मखमली फूल फुलेर बिक्रीका लागि तयार छन् । प्रतिकिलोग्राम रु तीन सयका दरले फूल बिक्री भइरहेको उहाँले बताउनुभयो । अझै खेतमा डेढ क्विन्टल फूल बिक्री गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

“रामलीलालगायत कार्यक्रममा पनि फूल बिक्री भयो । तिहार बाँकी फूल सबै बिक्री हुने विश्वास छ”, रोकायाले भन्नुभयो, “पोहोर साल रु पाँच सय किलोग्रामका दरले बिक्री भएको थियो । उपभोक्ता महँगो भनेपछि यसपालि मूल्य घटाएको हो ।” बाह्र कट्ठा जमिनमा फूल खेती गर्न रु ४५ हजार लगानी लागेको उहाँको भनाइ छ । भारतबाट फर्किएर रोकायाले दुई वर्षअघिदेखि फूल खेती थाल्नु भएको हो ।

सुरुआतमा भारतबाट रोकायाले फूलको बीउ मगाएर खेती गर्नुभएको थियो । “अब बीउ ल्याउनुपर्ने अवस्था छैन । फूलको बेर्ना आफैँले खेतमा उत्पादन गर्ने गरेको छुँ”, उहाँ भन्नुहुन्छ, “फूल र माला बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ ।” असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । साउनमा खेतमा सारेको फूलको बेर्ना असोजदेखि बिक्रीका लागि तयार हुने गरेको उहाँको भनाइ छ ।