काठमाडौँ, कात्तिक १२ गते । राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल पुरस्कृत तथा सम्मानित हुनुभएको छ । नागरिक समूहद्वारा आज यहाँ आयोजित राष्ट्रिय युवा तथा सुशासन सम्मेलन एवं राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा अर्याल पुरस्कृत तथा सम्मानित हुनुभएको हो ।

युवा अभियानमार्फत विश्वभरका युवालाई जोड्न १० वर्षदेखि क्रियाशील अर्याललाई सम्मानित गरिएको नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले बताउनुभयो । यसअघि यसै पुरस्कारबाट पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपरथी डा रमीन्द्र क्षत्री (अप्रा, नेपाली सेना) र वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रूइत पुरस्कृत तथा सम्मानित भइसक्नुभएको अध्यक्ष हुमागाईंले बताउनुभयो । 

पुरस्कार निर्णायक समितिका तर्फबाट बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारीले ‘ग्लोबल युथ पार्लियामेन्ट’मार्फत् विश्वमा नेपाल चिनाइरहनुभएका युवा अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा गर्व लागेको बताउनुभयो । 

सम्मेलनलाई सम्बोधन गर्दै पुरस्कृत तथा सम्मानित व्यक्तित्व अर्यालले लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील नागरिक समूहले योग्य सम्झेर सम्मान गर्दा युवा अभियानलाई अझ सशक्त बनाउने दायित्व थपिएको बताउनुभयो । युवा अभियानलाई समाजप्रति योगदान दिनसक्ने र देशलाई विश्व रङ्गमञ्चमा चिनाउने लक्ष्यलाई प्रोत्साहन मिलेको उहाँको भनाइ थियो ।