काठमाडौँ, कात्तिक ११ गते । भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको र लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।

त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । नेपालले अब उपाधिका लागि फाइनलमा आगामी बुधबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।