फाइल तस्वीर
काठमाडौँ, कात्तिक ११ गते ।
नेपालमा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगिका अन्तर्गत आज आइतबार हुने सेमिफाइनलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । आयोजक राष्ट्र नेपाल र भारतबीच आज साँझ साढे पाँच बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

नेपाल समूह ‘बी’को विजेता टिम हो भने भारत समूह ‘ए’ को उपविजेता टिम हो । आज दिउँसो हुने अर्को सेमिफाइनलमा भुटानले बङ्गलादेशको सामना गर्दै छ । यी दुवै टिमको खेल पनि दशरथ रङ्गशालमा दिउँसो हुँदैछ । बङ्गलादेश अघिल्लो संस्करणमा विजेता टिम हो ।

दक्षिण एसियाली महारथी भारत साफ महिला च्याम्पियनसिपको पाँच पटकको विजेता टिम हो भने नेपालले पनि पाँच पटकसम्म फाइनलमा प्रतिस्पर्धा गरेता पनि उपाधि चुम्न सकेको छैन ।

अघिल्लो संस्करणमा नेपाल र भारतबीच नै सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले भारतलाई हराउँदा फाइनमा पुगेको थियो । फाइनमा बङ्गलादेशी टिमसँग स्तब्ध बन्न पुगेको नेपाली टिम जारी सातौं संस्करणमा घरेलु मैदान र दर्शकहरुको साथमा उपाधि चुम्न आतुर देखिन्छ ।

आज हुने सेमिफाइनलमा नेपालले भारतलाई हराउन सके आजै दिउँसो हुने भुटान र बङ्गलादेशबीच हुने अर्को सेमिफाइनलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पछिल्लो संस्करणमा भारतको दबदबामाथि ब्रेक लगाउँदै आएको छ । यतिबोला नेपाली टिम उत्कृष्ट लयमा रहेको छ नै जारी संस्करणमा एक गोल पनि नखाइ १७ गोल गरेको छ । नेपाली टिमलाई घरेलु दर्शकको अपार उत्साह मिल्ने छ ।

जारी संस्करणको समूह चरणमा साविक विजेता बङ्गलादेशले भारतलाई ३–१ गोलको अन्तरले पराजित गर्दै समूहको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो भने भुटान पनि गोल अन्तरको आधारमा आफ्नो समूहबाट उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आज समूह ‘बी’को विजेता नेपाल र समूह ‘ए’को उपविजेता भारतबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुँदैछ भने समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच फाइनलका लागि भिडन्त हुँदैछ ।