फाइल तस्वीर
काठमाडौँ, कात्तिक १० गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकारविरुद्ध आज सडक आन्दोलनमा उत्रिएर खबरदारीसभा गर्दैछ । माओवादी केन्द्रले लामो समयपछि सरकारको विरुद्ध सडक आन्दोलन गर्न लागेको हो ।

माकेले देशको राजधानी काठमाडौँ केन्द्रीत खबरदारीसभाको नाम दिएर वर्तमान सरकारविरुद्ध आन्दोलनमा उत्रिन लागेको हो । राजधानीको विभिन्न क्षेत्रबाट निस्कने शान्तिपूर्ण आन्दोलनको समूहहरु प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेर खबरदारीसभा गर्ने माकेले जनाएको छ । आजको खबरदारीसभा सरकारलाई झकझक्याउन रचनात्मक र शान्तिपूर्ण आन्दोलन गर्न लागिएको बताइएको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश समिति, उपत्यका विशेष समिति र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा गर्न लागिएको जनप्रदर्शन र खबरदारीसभाको तयारी पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी गराउनुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व बाजागाजा र झाँकीसहितको ब्यानरलिएर आज शनिबार रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारीसभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ । जनप्रदर्शनका लागि बिहान ११ बजे सुन्धारास्थित काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिइसकेको छ ।

जनप्रदर्शन र खबरदारीसभाका आयोजकले बाहिरबाट धेरै जुलुस ल्याउँदा सर्वसाधारणलाई अप्ठ्यारो हुने र उपत्यकामा ट्राफिक जामको समस्या हुने भएकाले यसपटक फरक तरिकाले विरोध गर्न लागिएको दावी गरेको छ ।

माओवादीको आजको जनप्रदर्शन र खबरदारीसभाको दुई घण्टाको मात्र हुने बताइएको छ । काठमाडौँ मलबाट सुरुगरिने जनप्रदर्शदन रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै करिव साढे १२ बजे भृकुटीमण्डपमा पुगेर खबरदारीसभामा परिणत हुने र पार्टीका केही नेताहरुसहित अध्यक्ष प्रचण्डको भाषणपछि आजको आन्दोलनको कार्यक्रम समापन हुने सो पार्टीले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माके)ले गत असारको अन्तिम सातामा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार पूर्णत रुपमा असफल रहेको निष्कर्ष निकालेको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता रोहणको एक सयदिन पूरा भएको अवसरमा आफुले बाचा गरेका कामहरु ७० प्रतिशत पुरा गरेको दावी गर्नुभएको थियो ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र अन्य दलहरुले समेत वर्तमान केपी ओली नेतृत्वको सरकारको विरोध गर्दै आन्दोलनका कार्यक्रमहरु गरेका छन् । प्रतिपक्षी दलहरुको आन्दोलनलगायत देशको अन्य समसामयिक विषयमा छलफल गर्न हिजो साँझ सत्तासाझेदार दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । सत्ता गठबन्धनको हिजोको बैठकले प्रतिपक्षी दलहरुलाई आन्दोलन नगर्न चेतावनीयुक्त विज्ञप्ति समेत निकालेको थियो ।