राष्ट्रिय जलवायु सम्मेलन तयारीको क्रममा छलफल गर्न बसेको बैठकको तस्वीर
काठमाडौँ, कात्तिक १० गते ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘आज शनिबार राष्ट्रिय जलवायु सम्मेलन’ हुँदैछ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त सम्मेलनको उद्घाटन गर्नुहुने मन्त्रालयले जनाएको हो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन ‘राष्ट्रिय जलवायु सम्मेलन’ को आयोजना गरिएको बताउनुभयो । 

जलवायु व्यवस्थापन महाशाखा प्रमुख ढुङ्गानाले “आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउनका लागि सहयोग पुग्नेछ, भन्नुहुँदै आज बिहान प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने, मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ का बारेमा प्रस्तुतीकरण गर्नुहुने र त्यसपछि जलवायु वित्त, हानि–नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सातओटा क्षेत्रगत विषयमा छलफल हुने जानकारी गराउनुभएको छ ।

महाशाखा प्रमुख ढुङ्गानाले कोप–२९ मा लैजाने एजेन्डालाई अझै बढी प्रभावकारी बनाउन छलफल भएको सम्मेलनले सहयोग गर्ने बताउनुभएको छ ।