राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ।
काठमाडौँ, कात्तिक ९ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्नुभएका नेता राजेन्द्र महतोले निर्वाचन आयोगमा दल दर्ता गराउनुभएको छ । नेता महतोले आयोगमा पुगेर एक सय ७३ सदस्यीय केन्द्रीय समितिसहित राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ता गराउनुभएको हो ।

लामो समयदेखि नयाँ राजनीतिक दल खोल्न गृहकार्य गर्दै आउनुभएका महतोले अन्ततः आज नयाँ दल दर्ता गराउँदै पुनः राजनीतिमा सक्रियता बढाउन खोज्नुभएको छ ।

नयाँ खोलिएको पार्टीको अध्यक्ष रहनुभएका राजेन्द्र महतोले अन्य पदहरुको कार्य विभाजन गर्नुभएको छैन । महतो नेतृत्वको दलले आयोगबाट निर्वाचनको लागि माछा चिन्ह पाएको छ ।

नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएका अध्यक्ष महतो जनता समाजवादी पार्टीबाट चोइटिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गर्न महत्वपूूर्ण भूमिका खेल्नुभएको थियो । सो पार्टीमा पनि अध्यक्ष महन्थ ठाकुरसँग उत्पन्न वैमन्यताका कारण पार्टी परित्याग गरेर नयाँ दल खोल्न लामो समय गृहकार्यमा लाग्नु भएको थियो । लोसपाबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियानहरु चलाउँदै आउनुभएका महतोले नयाँ राजनीतिक दल ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ दर्ता गर्न पुग्नुभएको छ ।

मधेशवादी दलहरुमा पटक पटक हुनेगरेको पार्टी विभाजनले शक्ति क्षयीकरण हुँदै आएर मधेशकेन्द्रीत दलहरुको सङ्ख्या बढेको छ । केन्द्रीय राजनीतिलाई बेलाबेलामा तरङ्गीत बनाउँदै आएका मधेशवादी दलहरु आन्तरिक कलहका कारण स–साना झुण्ड लिएर विभाजन हुँदै आफ्नो अस्तित्व स्थापित गराउन दल दर्ता गर्दै आएका छन् । यसैको पछिल्लो उदाहरण बन्नुभएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो ।