महोत्तरी, कात्तिक ९ गते । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थापनाकालदेखि काङ्ग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि भएको बताउनुभएको छ । आज नेपाली काङ्ग्रेस महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरमा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले समयकालमा सङ्घर्षका स्वरुप फरक भए पनि सबैको निचोड समुन्नत लोकतन्त्र भएको स्पष्ट पार्नुभएको हो ।

“नेपाली काङ्ग्रेसको जन्म नै जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका लागि भएको इतिहास छ”, उहाँले भन्नुभयो, “काङ्ग्रेसले झण्डै आठ दशक जनताका प्रजातान्त्रिक अधिकार र तिनको संस्थागत विकासमा खर्चेको छ ।” पछिल्लो दशकमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको संस्थागत विकासका लागि आफ्नो दलले सम्पूर्ण ध्येय केन्द्रित गरेको उहाँको भनाइ छ ।

दुई दिने प्रशिक्षणमा जिल्ला कार्य समिति र स्थानीय तहमा रहेका समितिका पदाधिकारी तथा सदस्य सहभागी छन् । प्रशिक्षण कार्यक्रममा डा कृष्णप्रसाद पौडेल, डा सुरेश आचार्य, नेत्री नानु बास्तोला र डा अच्युत वाग्ले प्रशिक्षकको रुपमा रहनुभएको काङ्ग्रेसका जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिनुभयो ।