काठमाडौँ, कात्तिक ९ गते । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नारासहित काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन हुने भएको छ । यही कात्तिक ११ र १२ गते आयोजना हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सात वटा प्लेनरी सत्र रहने परिषद्ले जनाएको छ । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक ९पिएनआ०, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुने कार्यतालिका छ । यस्तै दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहने छन् ।

साथै विगतमा असन्तुष्ट समूहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै वार्षिक साधारणसभालाई एकताको सभा बनाइने विषयमा छलफल भइरहेको एनआरएनए ९केसी समूह० का अध्यक्ष डा बन्द्री केसीले बताउनुभयो ।

एनआरएनए केसी समूहका उपाध्याक्ष रामशरण सिंखडाले पनि एनआरएनएमा देखिएका कमीकमजोरीलाई सच्याउँदै सबैलाई एकतामा ल्याउने प्रयास गरिने बताउनुभएको छ । अर्का उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनले एनआरएनका लक्ष्य कार्यान्वयनका लागि मार्गदर्शन दिने बताउनुभएको छ । सोही पक्षका उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनका कारण महिला तथा बालबालिकामा परेको असरका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभएको छ ।

परिषद्का महासचिव गौरीराज जोशीले एनआरएन डेभलप्मेन्ट फण्ड ९१० अर्बको फण्ड० को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीज्यूलगायत सरोकारवालासँग छलफल हुने जानकारी दिनुभएको छ । उहाँका अनुसार कात्तिक १२ गते गैरआवासीय नेपाली सङ्घको विधानअनुसार नियमित वार्षिक साधारणसभा आयोजना गरिने छ । सङ्घका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउने उहाँले बताउनुभयो ।

साधारणसभामा सहभागी हुन गैरआवासीय नेपाली सङ्घका अधिकांश पदाधिकारीहरू तथा साधारणसभा प्रतिनिधिहरू काठमाडौँ आइसक्नुभएको छ ।