बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन दिएको चेक ग्रहण गर्दै माकेका अध्यक्ष प्रचण्ड ।
काठमाडौं, कात्तिक ९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चका सह–इञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले आज शुक्रबार अपरान्ह पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मञ्चलाई धन्यवाद दिंदै नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको दावी समेत गर्नुभयो । माकेका अध्यक्ष प्रचण्डले यसपटक पनि बेलैमा पहलकदमी लिएर सङ्कट व्यवस्थापनको नेतृत्व गरेको जिकिरसमेत गर्नुभयो ।

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उहाँले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो ।

उहाँले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरुको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा बिपक्षी दलहरुको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पार्टी अध्यक्ष प्रचण्डले पार्टीका विभिन्न समितिहरुले यसपटक दशैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताउनुभयो ।