काभ्रेपलाञ्चोक, कात्तिक ८ गते । नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले ग्रीनसिफ्ट अभियान नेपालको प्रत्येक स्थानीय तह र विद्यालयहरुमा पु¥याउनुपर्ने बताउनुभएको छ । इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको आज यहाँ सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

राजदूत लोरेन्जोले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाले चाहे हरेक परिवर्तन सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा परिवर्तनका संवाहक हुन्, उनीहरुले चाहेमा जे कार्य पनि सम्मभव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धि नै एक मानक हो ।”

राजदूत लोरेन्जोले फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचो औँल्याउनुभयो । यदि नेपालले हरित ऊर्जाको क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकलाई इङ्कित गर्दै भन्नुभयो, “तपाईंहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।” 

त्यस्तै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले ग्रीनसिफ्ट केबल एक परियोजनामात्र नभई एक बृहत् अभियान भएको बताउनुभयो । उहाँले सामूहिक नेतृत्व र साझा दृष्टिकोण मूल नाराका साथ तीनै तहको सरकार, विद्यालय, विद्यार्थी र शिक्षक, त्यसैगरी समुदायमा काम गर्ने युवासमूह, निजी फोहरमैला उद्यमी, फोहरमैला सफाइकर्मीलाई एकै ठाउँमा साझा उद्देश्य प्राप्तिका लागि सहमत गराउनु नै यो अभियानको सफलता हो भन्नुभयो ।

त्यसैगरी युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले डाटामा आधारित पैरवी आवश्यक भएको हुनाले वेस्टस्मार्ट फेलोहरुले डाटामा आधारित नीतिनिर्माण गर्न खेलेको योगदान सराहनीय रहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख अञ्जली बज्राचार्यले महानगरभित्र परियोजना सञ्चालन गरेकामा इयू, क्रिएसन नेपाललगायत संस्थालाई धन्यवाद ज्ञापन गर्दै यस्ता अभियानहरु अझै बृहत् रुपमा सञ्चालन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

 इयूको सहयोगमा सञ्चालित चारवर्षे ग्रीनसिफ्ट नेपाल परियोजनाले बाग्मती, लुम्बिनी र मधेस प्रदेशगरी जम्मा नौ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पहिलो वर्षमा नेपालगञ्ज उपमहानगरपालिका, बर्दिवास नगरपालिका र ललितपुर महानगरपालिकामा सफलतापूर्वक गतिविधि सञ्चालन गरिसकेको छ भने परियोजनाको दोस्रो वर्ष जनकपुर उपमहानगरपालिका, भरतपुर महानगरपालिका र कोहलपुर नगरपालिकामा अभियान सञ्चालन गर्न गइरहेको परियोजनाका प्रमुख युनिश घिमिरेले बताउनुभयो ।

परियोजनाअन्तर्गत विद्यालयम वेष्टस्मार्ट स्कुल, युवा समूहहरुसँग सहकार्य, युवा परिचालनका लागि युवाको संस्थासँग सहकार्य, स्थानीय तहको फोहरमैला व्यवस्थापन नीति निर्माण, फोहरमैला उद्यमलाई सवलीकरण गर्न अनुदान, फोहरमैला सफाइकर्मीलाई स्वास्थ्य सुरक्षासम्बन्धी सशक्तीकरण तालिम, सफाइकर्मीहरुलाई सङ्गठित गर्न बनेका नागरिक समाज संस्थालाई सङ्गठानात्मक क्षमता अभिवृद्धि गर्न अनुदान तथा प्रशिक्षणलगायत क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।