गण्डकी, कात्तिक ८ गते । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।

यही कात्तिक २ गते पक्राउ पर्नुभएका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको अवस्थामा पुनः म्याद थप भएको छ ।

यसैगरी सहकारीको बचत रकम अपचलनकै आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको सूचना जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।