फाइल तस्वीरः डा. शेखर कोइराला, नेता नेपाली काङ्ग्रेस ।
विराटनगर, कात्तिक ८ गते । सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज बिहीबार विराटनगरमा आयोजित पत्रकार भेटघाटका नेता कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको दावी गर्नुभयो ।

काङ्ग्रेस नेता कोइरालाले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको आरोप लगाउँदै नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने जिकिर गर्नुभयो ।

दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उल्लेख गर्दै अध्यादेशको चर्चा निरर्थक रहेको बताउनुभयो । देशको परराष्ट्र नीति कमजोर बन्दै गएको प्रति टिप्पणी गर्दै नेता कोइरालाले नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिनुभएको थियो ।