फाइल तस्वीर
काठमाडौँ, कात्तिक ८ गते ।
भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन बनाउन दान गर्नुभएको जग्गाविरुद्ध सर्वोच्चमा दायर भएको रिट माथिको सुनुवाई हुँदैछ । एमाले पार्टीलाई दान गरिएको जग्गाविरुद्ध रिटको सुनुवाइको पेशी न्यायाधीश डा. नहकुल सुवेदीको इजलास तोकिएको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण र अन्य विभिन्न काण्डमा मुछिएका एमालेका कार्यकर्ता एवम् भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भनी गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गर्नुभएको थियो । सोही दिन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली र जग्गादाता गुरुङलेसंयुक्त रूपमा एमालेको पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन बनाउन शिलान्याससमेत गर्नुभएको थियो ।

त्यतिमात्र होइन, उक्त जग्गामा भाटभटेनीका मालिक स्वयम गुरुङले नै पार्टी कार्यालयको भवन एक वर्षभित्रै बनाइदिने प्रतिबद्धता समेत व्यक्त गर्नुर्भको थियो ।

तीन तीन पटकसम्म मुलुकको कार्यकारी पद र देशकै दोस्रो दल एमालेको अध्यक्षसमेत हुनुभएका व्यक्ति ओलीले पार्टीको लागि दानका रूपमा अदालतमा मुद्दा विचाराधिन रहेका विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दानका रुपमा लिनु भ्रष्टाचार नै भएको दावी गर्दै सर्वोच्च अदालतमा हिजो बुधबार रिट दायर भएको थियो ।

अधिवक्ता डा. ज्ञानकुमार बस्नेतले दायर गर्नुभएको उक्त रिटमाथि आज बिहीबार सुनुवाइ गर्न न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको छ ।