फाइल तस्वीरः सर्वोच्च अदालत ।
काठमाडौँ, कात्तिक ७ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी मुख्यालय बनाउन भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दान गर्नुभएको जग्गाका सम्बन्धमा सर्वोच्चमा रिट दर्ता भएको छ । दानको नाममा जग्गा लिएर पार्टी कार्यालय बनाउनु एक खालको भ्रष्टाचार हुने दावी गर्दै जग्गादाता मीनबहादर गुरुङलाई विपक्षी बनाइ वरिष्ठ अधिवक्ता ध्रुबलाल श्रेष्ठ र अधिवक्ता डा.ज्ञानबहादुर बस्नेतले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कीर्तिपुर नगरपालिकाको वडा नं २ स्थित मैत्रिनगरमा नेकपा एमालेको नयाँ मुख्यालय निर्माण गर्न सिलान्यास गर्नुभएको थियो । भाटभटेनीका मालिकले उक्त जग्गामा आगामी एक वर्षभित्र एमालेको केन्द्रीय कार्यालयको भवन समेत आफैंले निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

एमालेको पार्टी कार्यालय निर्माण गर्ने भनिएको जग्गाविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गर्दै दरपिठ गरेको थियो । हिजो मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दरपिठ बदर गर्दै उक्त निवेदन दर्ता गर्न आदेश गरेपछि आज बुधबार रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय श्रेष्ठ र बस्नेतले दायर गर्नुभएको रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्तिविरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्री ओलीले एमााले पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन सिलान्याससमेत भएकोले उक्त कार्य रोक्ने गरी अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।