काठमाडौँ, कात्तिक ६ गते । रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगत/कानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ ।

वर्तमान सरकार गठन भएको सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यसअवधिमा विभिन्न नौ क्षेत्रमा ५६ भन्दाबढी काम सम्पादन भएको जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको र सय दिनको अवधिमा १ दशमलव ०४ प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ ।

द्रुतमार्गअन्तर्गत प्याकेज नं २ मा पर्ने धेद्रे सुरुङ गत साउन २१ गते छिचोल्नेकार्य सम्पन्न भएको, खोकना–बुङ्गमती क्षेत्रमा आवश्यक भई अधिग्रहण गरिएका जग्गाको मुआब्जामा पूँजीगत लाभकर छुट दिन मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशन गरिएको छ ।

द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतबाट विस्तृत सम्भाव्यता अध्ययन पूरा भई प्रतिवेदन प्राप्त भएकामा अध्ययनको चरणमा रहेको मन्त्रालयले जनाएको छ । द्रुतमार्गअन्तर्गत मौरीभीर खण्डको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरुको निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्णाली कोरिडोर (लालिबगर–दुलिकुन्ना र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्ड) सडक आयोजनामा शून्य दशमलव २९ प्रतिशत थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको समष्टिगत प्रगति १३ दशमलव ७९ किमी पुगेको छ ।

कोसी कोरिडोर (च्याम्ताङ–घोङघप्पा खण्ड) मा शून्य दशलव ४१ किमी, महाकाली कोरिडोर दार्चुला–टिङ्कर (तुसारपानी–टिङ्कर खण्ड) सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव २ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव ३२ किमी सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृत भई विभिन्न प्याकेजमा काम भइरहेको र चालु आवको असोज मसान्तसम्म आयोजनाको भौतिक प्रगति २४ दशमलव २१ र वित्तीय प्रगति १७ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच भएको कार्यसम्पादन सम्झौताका आधारमा मन्त्री र सचिव तथा सचिव र प्रधान सेनापतिबीच कार्यसम्पमादन सम्झौता गरी तदनुसार कार्य भइरहेको, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट दैनिक, साप्ताहिक तथा पाक्षिक रूपमा राष्ट्रिय सुरक्षा विश्लेषण प्रतिवेदन तयार गरी सम्बन्धित पदाधिकारीसमक्ष नियमित रूपमा सम्प्रेषण गरिएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा राष्ट्रिय सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत कार्ययोजनामा रक्षा मन्त्रालय र नेपाली सेनालाई जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिएको छ । राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ कार्यान्वयनको लागि नेतृत्व, अन्तर–निकाय समन्वय र सहजीकरण गरिएको छ ।

राष्ट्रिय सेवा दलको नयाँ विधेयकको मस्यौदा तर्जुमा, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विधेयकको मस्यौदा माथि विभिन्न मन्त्रालयबाट प्राप्त राय÷सुझावलाई सम्बोधन गरी मस्यौदा पुनरावलोकन÷परिमार्जन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । सैनिक सेवा (छैटौं संशोधन) नियमावली, २०८१ को मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा राय÷सहमतिको लागि पठाइएको, सैनिक प्राविधिक सेवा नियमावली, सैनिक विविध सेवा नियमावली, सैनिक हवाई सेवा नियमावली र सैनिक प्राड सेवा नियमावलीको संशोधन मस्यौदा तयार गरिएको छ ।

यस्तै नेपाली सेना भर्ना छनोट कार्यविधिको मस्यौदा तथा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

गत असोज ११ र १२ गते परेको मुसलधारे वर्षापछि आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा नेपाली सेना तत्काल परिचालन गरिएको मन्त्रालयले जनाएको छ । उद्धार कार्यमा नेपालभरी तीन सय ८३ स्थानमा प्रत्यक्षरूपमा सात हजार चार सय ८७ सैनिक फौज खटिएको, सात स्थानमा हवाई उडानमार्फत खाद्यान्न ढुवानी गरिएको, १६ वटा शव हवाई उडानमार्फत व्यवस्थापन गरिएको र उक्त बाढीको समयमा सिस्नेरी खोलामा आएको बाढीमा फसेका ३२ जना फुटबल खेलाडीको सकुशल उद्धार गरिएको छ ।

यस अवधिमा सुत्केरी ४५, घाइते तथा बिरामी ३१, मनसुनजन्य विपद्मा परेका नौ सय ५९ गरी एक हजार ३५ जनाको नेपाली सेनाद्वारा सकुशल हवाई उद्धार गरिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । बाढी पीडितलाई वितरणको लागि करिब २३ हजार नौ सय ६४ केजी राहत सामग्री र चार हजार चार सय ५० लिटर डिजेल हवाई ढुवानी गरिएको छ ।

बाढीले बगाएको सिन्धुलीको खुर्कोटस्थित पुलको ठाउँमा नेपाली सेनाद्वारा ‘बेलिब्रिज’ जडान गरी अवरुद्ध सवारी आवागमन सुचारु गरिएको तथा विभिन्न ४७ स्थानमा पहिरो पन्छाउने तथा सात स्थानमा तटबन्ध निर्माण गर्ने कार्य सम्पन्न भएको छ । जलवायु परिवर्तनको असरबाट सोलुखुम्बुमा हिमताल विस्फोट भई थामे क्षेत्रमा आएको बाढीमा फसेका मानिसको उद्धारमा एक सय ७९ सेनाका जवान खटाइएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

मुलुकका विभिन्न २३ उपचार केन्द्रबाट एक हजार २६ जना सर्पदंशबाट पीडितको उपचार, २४ जनाबाट रक्तदान, वीरेन्द्र अस्पतालबाट असोज मसान्तसम्म दुई लाख ८३ हजार तीन सय ८२ जनालाई स्वास्थ्योपचार सेवा प्रदान तथा छ हजार पाँच सय ३७ जनालाई सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गरिएको छ ।

अमेरिकाको होनोलुलु हवाइमा गत भदौ तेस्रो साता नेपाली सेनाका उपरथी कृष्णदेव भट्टको नेतृत्वमा रक्षा तथा पराराष्ट्र मन्त्रालयका एक÷एक जना प्रतिनिधिसहितको १३ सदस्यीय टोली सहभागी भई नेपाल र संयुक्त राज्य अमेरिकाबीचको पाचौँ संस्करणको ‘ल्याण्ड फोर्स टक’ को बैठक सम्पन्न भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यका लागि सहयोग पु¥याउने सन्दर्भमा नेपाली सेनाबाट छनोट भई सिफारिस भएका एक हजार नौ सय छ जना विभिन्न दर्जाको मनोनयन, शान्ति सेनासम्बन्धी विभिन्न तालिममा २३ जनाको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

भरपर्दो र विश्वासिलो संस्था भएकाले सेनालाई थप जिम्मेवारी :मन्त्री शर्मा

रक्षामन्त्री मानवीर राईले मुलुकलाई आर्थिकरूपमा समृद्ध, सबल र सक्षम बनाउन वर्तमान सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकार गठन भएपछिको पहिलो सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएको प्रगति विवरण सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले समृद्ध नेपाल निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउनुभयो ।

नेपाली सेना मुलुकको भरपर्दो, विश्वासिलो र तोकिएको जिम्मेवारी पूरा गर्ने संस्था भएकाले सेनालाई राष्ट्रिय सुरक्षाका अतिरिक्त थप जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै मन्त्री राईले सरकारले दिएको जिम्मेवारीबाट सैनिक सङ्गठनलाई अप्ठ्यारो नपर्ने बताउनुभयो । “आधुनिक नेपाल निर्माणदेखि हालसम्म नेपाली सेनाले सम्पादन गरेका जिम्मेवारी ऐतिहासिक छन्”, उहाँले भन्नुभयो ।