काठमाडौँ, कात्तिक ६ गते । भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भिस्टारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि सुरक्षाकर्मीले आवश्यक जाँच अघि बढाएको छ । एक सय ५७ जना यात्रुसहित अपराह्न ४ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको उक्त जहाजमा बम भएको हल्ला फैलिएपछि सेना र सुरक्षाकर्मीले आवश्यक जाँच सुरु गरेका हुन् ।


भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । विमानस्थल स्रोतका अनुसार जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको थियो । बमको हल्लापछि त्रिभुवन विमानस्थलको उडानसमेत प्रभावित भएको छ ।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको चेक गरिनेछ । अहिले काठमाडौँ विमानस्थलको उडान–अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न दिइएको छैन ।”