तस्वीरमा माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
काठमाडौं, कार्तिक ६ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कार्तिक १० गते शनिबार काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो । माकेका अध्यक्ष प्रचण्डले खबरदारी सभाको तयारीमा जुट्न पार्टीका सबै समितिहरुलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

जनप्रदर्शन र खबरदारीसभाका थप एजेण्डा तय गर्न प्रमुख प्रतिपक्षी दल माकेको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक चलिरहेको छ ।